♦इस खबर को आगे शेयर जरूर करें ♦

डुवर्सले अब भारतीय गोर्खाहरूको नेतृत्व लिनुपर्छ: प्रदीप गुरुङ

सुखमन मोक्तानका कृति विमोचित, पहिलो भीमा छेत्री पुरस्कार अर्पण

बाग्राकोट, 06 अक्टोबर। भारतीय गोर्खा समाजका अग्रणी समाजसचेतक, कवि तथा जातीय अस्मिता र चिन्हारीका अथक योद्धा सुखमन मोक्तानका कविताहरूको सङ्कलन ‘एउटा घर बनाउने रहर’ आज बाग्राकोटमा भव्य समारोहबीच विमोचित भएको छ। यसै समारोहमा मोक्तानलाई मरणोपरान्त भीमा छेत्री स्मृति पुरस्कार पनि अर्पण गरिएको छ। भीमा छेत्री स्मृति संस्था, बानरहाटले सुखमन मोक्तानकी धर्मपत्नी मञ्जुला तामाङलाई यो पुरस्कार हन्तान्तरण गरेको हो। पुरस्कारमा अङ्गवस्त्र, प्रशस्ति-पत्र र सात हजार रुपियाँ नगद राशि सम्मिलित रहेको छ।

यस समारोहलाई वरिष्ठ साहित्यकार मोहन ठकुरीले अध्यक्षता गरेका थिए भने वरिष्ठ आख्यानकार प्रदीप गुरुङ मुख्य अतिथि अनि वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। नेपाली साहित्य परामर्श मण्डली, साहित्य अकादमीका सदस्य डा. जीवन राणा, भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय महासचिव निर्मल पुन, वरिष्ठ साहित्यकार मुक्ति उपाध्याय बराल र डुवर्स नेपाली साहित्य विकास समितिका संस्थापक सदस्य सागर राई देवान पनि मञ्चासीन थिए। दार्जीलिङ, कालेबुङ, खरसाङ, सिलगढी, डुवर्स, गोरुबथान क्षेत्रका प्रतिनिधि साहित्यकार तथा विशिष्ट व्यक्तिहरूसहित स्थानीय मानिसहरूको बाक्लो उपस्थिति रहेको समारोह सुखमन मोक्तानको प्रतिकृतिमा द्वीप प्रज्ज्वल तथा खादा अर्पणबाट शुरु भएको थियो। मोक्तानको ७२ औँ जयन्तीको अवसरमा डुवर्स नेपाली साहित्य विकास समितिले यो समारोह आयोजन गरेको थियो।

“यो पुस्तक एउटा चौतारी हो, जहाँ बसेर हामी सुखमन मोक्तानलाई हेर्न सक्छौँ। यो सङ्ग्रहमा हाम्रा गुहार र गर्जन, आशा र आकांक्षाहरू विम्बित छन्। उनलाई हामी कवितामा जीवित रहेका पाउँछौँ”, वरिष्ठ साहित्यकार मोहन ठकुरीले भने। डुवर्स र भारतीय गोर्खा समाजका जिम्मेवारी लिएर हिँड्न परेकोले मोक्तानका कविताहरू अहिलेसम्म फाइलमा बन्द भएर रहेका उनको ठहर थियो। सुखमन मोक्तानको निधनको लगत्तै डुवर्सका प्रतिभाशाली युवा कवि सुदर्शन तामाङले लेखेको कविता पनि उनले पाठ गरेर सुनाए।

वरिष्ठ आख्यानकार प्रदीप गुरुङले सुखमन मोक्तान जीवित हुँदै उनको सही मूल्याङ्कन हुन नसकेको गुरुङको गुनासो थियो। बाग्राकोट र डुवर्सको क्रियाशीलताको प्रशंसा गर्दै उनले भने- “पहाड़ अलसतलस छ, डुवर्स सजग छ। डुवर्सले अब भारतीय गोर्खाहरूको नेतृत्व लिनुपर्छ।” वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ाले डुवर्सलाई भारतीय गोर्खा समाजको अगुवा बताए। अहिलेको डुवर्स धेरै पिसिएर बनिएको डुवर्स हो। यसैले हामीले सुखमन मोक्तानजस्ता नेतृत्व पायौँ।

मोक्तानलाई खारिएर आएको नेतृत्व बताउँदै खतिवड़ाले भने-“आफ्नो घर बनाउने रहर डुवर्सले नै जन्माउँछ। सुखमनले देखाएको बाटोमै दार्जीलिङ पनि छ। डुवर्स जत्तिको शक्तिशाली अहिले कोही छैन। डुवर्सले जस्तो दार्जीलिङले एकजना अमीर सुन्दास पनि जन्माउन सकेन। डुवर्सले हामीलाई बाटो देखाउँदैछ। यति छोटो समयावधिमा सुखमन मोक्तानका कविताहरूको सङ्कलन प्रकाशित हुनु डुवर्सले हाम्रो जर्जर र निष्लोठ समाजलाई दिएको मुक्का हो। दार्जीलिङ र सिलगढ़ीले डुवर्सबाट सिक्नुपर्छ।”

यसैगरी, भारतीय गोर्खा परिसङ्घका सचिव अभय खालिङले परिसङ्घको राष्ट्रियकरण तथा देशका २४ वटा राज्यका गोर्खाहरूका समस्या बुझ्न तथा त्यसका समाधानका लागि सुखमन मोक्तानले पछिल्ला बीस वर्षमा दिएको मार्गदर्शन र नेतृत्वको रेखाङ्कन गरे। आगामी फरवरीमा हुने अधिवेशनमा ‘हाम्रो परिसङ्घ’-सुखमन मोक्तान विशेषाङ्कको रूपमा प्रकाशन गर्ने, ११ मई, २०२२ मा मोक्तानको पुण्य तिथिको अवरसरमा बाग्राकोटमा उनको पूर्णाङ्ग सालिकको स्थापना गर्ने अनि २०२१ को ‘राष्ट्रिय गोर्खा गौरव सम्मान’ सुखमन मोक्तानलाई मरणोपरान्त अर्पण गर्ने उनले भागोपको तर्फबाट घोषणा गरे।

यसअघि, सुखमन मोक्तानका कविताहरूका सम्पादक वसन्त थापाले केही दिनअघि मात्र निर्णय गरेर पनि कविता सङ्ग्रह प्रकाशमा ल्याउन सक्नु समूहमा काम गर्ने डुवर्सको विशेषताकै कारण सम्भव भएको जिकिर गरे। उनले भने, “सुखमन मोक्तानको जन्म डुवर्समा हुनु ‘जियोग्राफिकल मिस्टेक’ होइन। डुवर्समा सुखमन मोक्तानको विकास भविष्यमा डुवर्सले थुप्रै सुखमन मोक्तान जन्माउन सक्ने सम्भावनाको प्रतीक हो।” मोक्तानका कामको संरक्षण तथा प्रवर्धन गर्न डुवर्स कटिबद्ध रहेको उनले बताए।

कविता सङ्ग्रहको विश्लेषण गर्दै वरिष्ठ साहित्यकार अबीर खालिङले जातीय उन्मुक्ति, चियाबारीका श्रमिकहरूका मुक्ति, एकताका आह्वान तथा दृढ़ सङ्कल्पी भाव उनका कविताका सकारात्मक पक्ष भएको बताए। जातीय जिम्मेवारीलाई काँध हाल्न पर्दा उनका कविताको विकासक्रम बोन्साइ भएको बताउँदै सुखमन मोक्तानको कविताको सार आशावाद रहेको उनले उल्लेख गरे।

यसैगरी, मोक्तानका कविता सङ्कलनमा सहयोगी भूमिका निभाएका अनि सङ्ग्रहमा विस्तृत भूमिका लेखेका समालोचक रूपेश शर्माले सुखमन मोक्तान डुवर्सका सम्भावनाका प्रतीक बनेको मन्तव्य राखे। उनले भने-“सुखमन मोक्तान भोग्न सकिने आदर्श हुन्। हामी उनलाई हाम्रा कामहरूमा गतिशील र जीवन्त राख्न चाहन्छौँ। बद्रीनारायण प्रधान, सुखमन मोक्तानहरू इतिहासनिर्माता हुन्। उनीहरूलाई नपढी हाम्रो इतिहासको गति अघि बढ्न असम्भव छ।” समर्पित, सङ्ग्रामी, संवेदनशील र चेतनशील व्यक्तिहरूका जीवनको विकास सन्तुलित नहुने बताउँदै उनले डुवर्स र भारतीय गोर्खा समाजमा थुप्रै सुखमन मोक्तानहरूको विकास र जन्म आवश्यक भएको विचार पोखे। चिया बगान सङ्ग्राम समितिका संयोजक, अनुवादक तथा ‘लाली गुराँस’ पत्रिकाका सम्पादक शमिक चक्रवर्तीले चिया श्रमिकहरूका पक्षमा मोक्तानका कर्महरूको स्मरण गरे।

उनले भने, “सुखमन मोक्तान आफ्ना कार्ययोजनाहरूलाई कार्यरूपमा परिवर्तन गर्न हतारिने व्यक्ति थिए। उनका पदचिन्हहरूमा हिँड्नु हाम्रो कर्तव्य हो।”

भीमा छेत्री स्मृति पुरस्कारका प्रायोजक अभिषेक छेत्रीले आफ्नी आमाको सङ्घर्षशील, जनमुखी तथा मानवीय सेवाकर्महरूमाथि प्रकाश पार्दै पुरस्कार स्थापनाको औचित्य अनि सुखमन मोक्तानलाई नै पहिलो स्मृति पुरस्कार अर्पण गर्ने निर्णयबारे अवगत गराए। भीमा छेत्रीको परिचय बाग्राकोट उच्चतर माध्यमिक विद्यालयकी वरिष्ठ शिक्षिका गङ्गा देवी शर्माले पठन गरिन्।

यसअघि, कार्यक्रममा स्वागत वक्तव्य राख्दै डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवासले सुखमन मोक्तान कसरी डुवर्सको हुँदै भारतका भए भन्ने विषयमा मन्तव्य गरे। मोक्तानको जीवन-दर्शनमा युवा पुस्ता जोडिए मात्र समाज अघि बढ्न सक्ने उनको भनाई थियो। कार्यक्रममा परिवारको पक्षमा धन्यवाद ज्ञापन गर्दै सितम मोक्तानले सबै आमन्त्रितगणको उपस्थितिले कार्यक्रमको गरिमालाई उँचाइ प्रदान गरेको जनाउँदै कृतज्ञता जताए। निबन्धकार, टीभी एंकर तथा शिक्षक अजय खड्काद्वारा सञ्चालित कार्यक्रममा नारायण काफ्लेले मोक्तानकृत ‘एउटा घर बनाउने रहर’ कविता पाठन गरे भने गणेश गजमेर र सुदर्शन तामाङले सुन्दर स्वरचित कविताहरू सुनाए। डुवर्स आइडलका दोस्रो उपविजेता यश लामाले पनि कार्यक्रममा स्वागत गीत प्रस्तुत गरे। कार्यक्रममा साहित्य परिक्रमा परिवार र सुखमन मोक्तान परिवारका सदस्यहरूको दह्रो सहयोग रहेको थियो।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129