♦इस खबर को आगे शेयर जरूर करें ♦

एसकेएमले भोट होइन जनताको आवश्यकतालाई हेरेर काम गरिरहेको छ: मुख्यमन्त्री

मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)-द्वारा उद्घाटित घर

गान्तोक, 13 सेप्टेम्बर।  मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पूर्व सिक्किमको स्यारी निर्वाचन क्षेत्रमा पर्ने नाण्डोकमा सिक्किम गरीब आवास योजना (एसजीएवाई) अन्तर्गत निर्मित पहिलो घर उद्घाटन गरेका छन्। मुख्यमन्त्रीले घरको उद्घाटन गरेर लाभार्थी आथुप लेप्चालाई हस्तान्तरण गरे।

एसजीएवाई राज्य सरकारको एउटा ध्वजवाहक कार्यक्रम हो जसअन्तर्गत गरीब परिवारहरूको निम्ति पक्का अनि गुणस्तरीय आवास सुनिश्चित गरिन्छ। साथै लाभार्थी परिवारको निम्ति घरमा आवश्यक आधारभूत सुविधाहरु पनि उपलब्ध गराइन्छ। यस योजना अन्तर्गत राज्य सरकारको सिक्किमभरि कूल 3,050 पक्का घर निर्माण गर्ने योजना रहेको छ।

आफ्नो सम्बोधनमा मुख्यमन्त्री गोलेले समय सापेक्ष कार्यक्रम हुनुपर्ने अनि कार्यक्रम आयोजकले आर्थिक खर्च र समयको बचत गर्ने काम गर्नुपर्छ भनि सल्लाह दिए। मुख्यमन्त्री गोलेले समयको महत्वमाथि प्रकाश पार्दै मानिसहरूले एक मिनटमा लाखौं रूपियाँ कमाउँछन् तर हामी एउटै कार्यक्रममा धेरै रूपियाँ र समय खर्च गर्छौं यसले मुख्यमन्त्री स्वयं र जनताको पनि धेरै नोक्सानी हुनुपर्ने बताए। उनले सम्बन्धित कार्यक्रम बाहेक अन्य कुनै पनि कार्यक्रम नराखे आयोजकको सम्पत्तिसँगै समयपनि बचाउन सकिन्छ भन्ने मन्तव्य राखे।

यस अघि घर उद्घाटनपछि पत्रकारहरूसित कुराकानी गर्दै मुख्यमन्त्री तामाङले पूर्व सरकारमा जति पनि योजनाहरू लागू गरियो सबै नै मुख्यमन्त्रीको नामसित जोड़ेर गरिन्थ्यो, तर एसकेएम सरकारले गरीब जनतालाई सम्मान जनाउन सिक्किम गरीब आवास योजना नामकरण गरेको स्पष्ट पारे। उनले यस योजना अन्तर्गत ग्रामीण क्षेत्रहरूमा घर निर्माण गरिन्छ भने सिक्किम शहरी गरीब आवास योजना अन्तर्गत शहरी क्षेत्रहरूमा घर निर्माण गरिने बताए।

उनले भने, ‘गरीबहरू जहिले पनि गरीब नहोस, खाली खुट्टे जहिले पनि खाली खुट्टे नहोस र गरीबहरू पनि अगाड़ी बढ्नु पर्छ र उनीहरू पनि धनी बन्नुपर्छ भन्ने सोच लिएर सरकारले काम गरिरहेको छ।’ मुख्यमन्त्रीले एकैपल्टमा सबै घरहरू निर्माण गर्न सकिॅंदैन भन्दै प्रथम चरण अन्तर्गत मार्च 2022 भित्र घरहरूको निर्माण पूरा गर्ने लक्ष्य रहेको अवगत गराए। उनले त्यसपछि अर्को चरण अन्तर्गत घरहरू निर्माण गर्न शुरू गरिने बताए।

उनले पूर्व सरकारमा चुनाउ अगाडी सहुलियतहरू वितरण गरिन्थ्यो, तर चुनाउ अगाड़ी दिएका आश्वासनहरू कहिले पनि पूरा गरिएन, कारण गरीबहरूको भोट प्राप्त गर्न मात्र यस्ता घोषणाहरू गरिन्थ्यो भनी आरोप लगाए। तर वर्तमान सरकारले जसलाई आवश्यक छ उनीहरूलाई एलटमेन्ट वितरण गरिरहेको बताए। उनले एलटमेन्टसॅंगै घर निर्माण कार्य पनि शुरू गरिॅंदैछ भन्दै एलटमेन्ट थापेर कसैको घर निर्माण नभएको घटना नरहेको पनि दाबी गरे। उनले भुइँलाचोको समयमा भत्किएका धेरै घरहरूको निर्माण कार्य एसकेएमले सरकार गठनपछि गरिएको पनि बताए।

मुख्यमन्त्रीले एक प्रश्नको जवाफमा वर्ष 2013—14 मा वितरण गरिएको एलटमेन्ट अर्डरहरू केवल भोटको निम्ति थियो, घर निर्माणको निम्ति थिएन भनी बताए। तर, एसकेएमले भोटको राजनीति होइन, तर आवश्यकतालाई हेरेर काम गरिरहेका उनले बताए।

अर्कोतिर, मुख्यमन्त्रीले वर्तमानमा पर्यटनको अवधारणा परिवर्तन भइरहेको छ भन्दै पहिले पर्यटकहरू शहर केन्द्रित थिए भने अहिले पर्यटकहरू गाउॅं बस्तीतिर जान चहान्छन् भनी बताए। यस विषयलाई ध्यानमा राख्दै सरकारले मेगा होमस्टेको निर्माण शुरू गरेको पनि थप जानकारी गराए।

65 वर्षीय लाभार्थी आथुप लेप्चा पक्का घर पाएपछि खुशी व्यक्त गर्दै मुख्यमन्त्रीलाई धन्यवाद दिए। उनले पहिला आफ्नो कच्चा र सानो घर रहेको बताउॅंदै पक्का घर पाउॅंदा धेरै खुशी लागिरहेको बताए। उनले एलडी काजीको सरकारदेखि आफुले केही नपाएको दाबी गर्दै यस्तो घर पाउॅंछु होला भन्ने नसोचेको पनि बताए।

एसजीएवाई अन्तर्गत प्रत्येक लाभार्थी परिवारको निम्ति 17.51 लाख रूपियॉंको लागतमा एकतले पक्का घर निर्माण गरिन्छ। यो एकतले घरमा एउटा बैठक कोठा, दुईवटा शयनकक्ष, भान्सा घर, शौचालय रहेको छ। यस अतिरिक्त एउटा टीभी सेट, एक सेट सोफा, एउटा सेन्टर टेबल, 2 वटा अलमारी, 2 वटा सिङ्गल बेड र एउटा डबल बेड पनि लाभार्थीहरूलाई प्रदान गरिन्छ।
एसजीएवाई अन्तर्गत निर्मित पहिलो घरको उद्घाटनको अवसरमा नाण्डोक खण्ड प्रशासनिक केन्द्र परिसरमा एक समारोह आयोजन गरिएको थियो। कार्यक्रमलाई मुख्यमन्त्री तामाङ, क्षेत्र विधायक एवं मन्त्री केएन लेप्चा, ग्रामीण विकास विभागका प्रधान सचिव सीएस राव आदिले सम्बोधन गरेका थिए।

उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङले यस योजनाको शुभारम्भ 8 अक्टोबर, 2020 मा गरेका थिए। आजको एसबीएवाई घर उद्घाटनको अवसरमा क्षेत्र विधायक तथा मन्त्री केएन लेप्चा, मन्त्री बीएस पन्त, मन्त्री भीमहाङ लिम्बू, विधायक जीटी ढुङ्गेल र विधायक एम प्रसाद शर्मा आदि उपस्थित थिए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129